पुष्पा भुसाल कांग्रेसको केन्द्रीय उपसभापतिमा पुनः निर्विरोध

1.2k Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पुष्पा भुसाल महिला कोटातर्फ केन्द्रीय उपसभापतिमा पुनः निर्विरोध निर्वाचित भएकी छन्। महिला कोटाबाट उपसभापति पदमा भुसालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।

अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागुन १ गते जन्मिएकी भुसाल कांग्रेसको विशेष महाधिवेशनबाट पहिलोपटक केन्द्रीय उपसभापति बनेकी थिइन्। १५औँ महाधिवेशनबाट उनले सोही जिम्मेवारीलाई निरन्तरता दिएकी हुन्।

भुसाल २०१५ सालको बीपी कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन्। २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनका बुबा सपरिवार भारत निर्वासनमा गएपछि भुसालले पनि लामो समय भारतमा बिताएकी थिइन्।

उनले २०३६ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेकी थिइन्। कानुनमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी भुसाल कांग्रेसको महिला तथा कानुन विभागमा लामो समय सक्रिय रहिन्। उनले नेपाल महिला संघको महासचिवको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

महिला अधिकार र समानताको पक्षमा सक्रिय भुसालले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी छन्। उनी वरिष्ठ अधिवक्तासमेत हुन्। विशेष महाधिवेशनअघि कांग्रेसका १२औँ, १३औँ र १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।

२०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची–२ बाट निर्वाचित भुसाल संविधान मस्यौदा समितिमा रहेर काम गरेकी थिइन्। त्यसअघि २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा पनि उनले कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेकी थिइन्।

२०५६ सालको संसदीय निर्वाचनमा अर्घाखाँची–२ बाट कांग्रेस उम्मेदवार बनेकी भुसाल पराजित भएकी थिइन्। तर, २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन्। २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनले कांग्रेस संसदीय दलको सचेतकका रूपमा चार वर्ष काम गरिन्।

पछि उनी प्रतिनिधिसभाको उपसभामुखसमेत बनिन्। २०७९ सालको उपसभामुख निर्वाचनमा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी थिइन्।

सम्बन्धित समाचार