शुक्रबारसम्म वर्षा, शनिबारदेखि मौसम खुल्ने

1.1k Shares

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षा शुक्रबारसम्म जारी रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारदेखि भने मौसम क्रमशः खुल्दै जानेछ।

हाल चितवन, काठमाडौँ, नवलपुर, तनहुँ, गोरखा लगायतका क्षेत्रमा वर्षा भइरहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा पनि मध्यम वर्षा भएको विभागले जनाएको छ। चितवनको गोविन्दबस्ती र धनगढी विमानस्थल क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा मापन गरिएको छ।

बुधबार देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना बढी रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबार वर्षाको मात्रा केही घट्ने भए पनि पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। शुक्रबार पूर्वी क्षेत्र र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहे पनि अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहेँलो चेतावनी जारी गरेको छ। धान भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था बुझेर मात्र कृषि कार्य गर्न विभागले आग्रह गरेको छ। शनिबारदेखि भने मौसममा क्रमिक सुधार आउने विभागको पूर्वानुमान छ।

सम्बन्धित समाचार