काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री प्रदीपकुमार सुनुवारले पार्टीको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीमा सुनुवारको नाम खुला केन्द्रीय सदस्यतर्फ समावेश गरिएको छ। खुला केन्द्रीय सदस्यका ४५ पदका लागि ९२ जनाले उम्मेदवारी दर्ता गराएको प्रारम्भिक विवरण छ।
ओखलढुंगाबाट कांग्रेसको राजनीतिमा सक्रिय सुनुवार विद्यार्थी राजनीतिबाट पार्टीमा प्रवेश गरेका हुन्। उनले २०४२ सालमा नेपाल विद्यार्थी संघको जिरी इकाइबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०४९ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका सुनुवार २०५४ सालको स्थानीय निर्वाचनमा खिजीफलाँटे गाविस अध्यक्ष निर्वाचित भएका थिए।
उनी ओखलढुंगा कांग्रेसको जिल्ला सभापतिसमेत दुई कार्यकाल भएका थिए। २०७९ सालको निर्वाचनमा ओखलढुंगा प्रदेशसभा क्षेत्र नम्बर १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनले कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार, स्वास्थ्य तथा खानेपानीलगायत मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
सुनुवार यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यसपटक भने उनले खुला समूहबाट पुनः केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
पार्टीलाई थप सुदृढ, आधुनिक र जनमुखी बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी रहेको सुनुवारले बताउँदै आएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ। निर्वाचन समितिले प्रारम्भिक सूचीमाथि दाबी–विरोधका लागि समय निर्धारण गरेको जनाएको छ। दाबी–विरोधको प्रक्रिया सम्पन्न भएपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ।