काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सभा बैठक असोज २२ गते अर्थात् आज बस्दैछ। लामो समयदेखि रोकिएको त्रिविको नीति तथा कार्यक्रम, वार्षिक बजेट र विद्यार्थीको ग्रेस लिस्टलगायत विषयलाई बैठकले टुंगो लगाउने तयारी गरिएको छ।
त्रिविको वार्षिक बजेट तथा नीति–कार्यक्रम यसअघि नै पारित हुनुपर्ने भए पनि पदाधिकारी नियुक्ति तथा अन्य प्रक्रियागत कारणले सभा बैठक बस्न सकेको थिएन। बैठक नबस्दा विश्वविद्यालयका महत्वपूर्ण प्रशासनिक तथा शैक्षिक निर्णयसमेत प्रभावित हुँदै आएका थिए।
त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीका अनुसार सभाले विश्वविद्यालयको बजेट र विद्यार्थीको ग्रेस लिस्ट पारित गर्ने मुख्य एजेन्डा रहेको छ। साथै विश्वविद्यालयको नीति तथा कार्यक्रमसम्बन्धी विषय पनि बैठकमा प्रस्तुत हुने बताइएको छ।
त्रिवि सभा विश्वविद्यालयको सर्वोच्च निकाय हो। यसले विश्वविद्यालयका नीति, कार्यक्रम, दीर्घकालीन योजना, नियम तथा बजेटलगायत महत्वपूर्ण विषयमा निर्णय गर्ने अधिकार राख्छ।
तर, बैठकको प्रक्रिया र सदस्य सहभागितालाई लिएर भने विवादसमेत देखिएको छ। केही सभा सदस्यलाई बैठकको जानकारी तथा एजेन्डा समयमै उपलब्ध नगराइएको भन्दै प्रश्न उठाइएको छ। प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संगठनहरूले समेत बैठक बोलाउने प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।
त्रिविको नियमअनुसार सभा बैठकका लागि सदस्यहरूलाई एजेन्डा र प्रस्तावबारे पूर्वसूचना दिनुपर्ने व्यवस्था रहेको भन्दै सरोकारवालाले प्रक्रिया पालना गर्न माग गरेका छन्। यस विषयमा देखिएको विवादबीच बैठकले गर्ने निर्णय र त्यसको वैधानिकताबारे पनि चासो बढेको छ।