काठमाडौं । विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी तथा उनीहरूले पेस गरेका कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिँदैछ।
सरकारले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि १३ जनालाई राजदूतमा सिफारिस गरेको छ।
समितिका अनुसार प्रस्तावित १३ राजदूतविरुद्ध ७ वटा उजुरी परेका छन्। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई लक्षित गरी परेको र पाँचवटा भने छुट्टाछुट्टै व्यक्तिलाई लक्षित गरेर परेको बताइएको छ।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणालाई सिफारिस गरेको छ।
त्यस्तै जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिसमा परेका छन्।
संसदीय सुनुवाइ पूरा भएपछि मात्र प्रस्तावित व्यक्तिहरूको राजदूत नियुक्ति प्रक्रिया अघि बढ्नेछ।