खुलामञ्चमा कांग्रेसको नेतृत्व दौड, आज उम्मेदवारी दर्ता

1k Shares

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज तेस्रो दिनमा प्रवेश गरेको छ। काठमाडौँको खुलामञ्चमा जारी महाधिवेशनको तेस्रो दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ।

महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रमा पार्टीका राजनीतिक, समसामयिक तथा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो। यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्दै केन्द्रीय समितिको आकार बढाउने निर्णयसमेत गरेको थियो।

आज निर्वाचन कार्यतालिकाअनुसार सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता हुने कार्यक्रम छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी तथा मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ।

मनोनयन दर्ता सकिएपछि दिउँसो ४ः३० बजे उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने तयारी छ। त्यसपछि उम्मेदवारविरुद्ध दाबी–विरोधका लागि समय दिइनेछ भने निर्वाचन समितिले प्राप्त दाबी–विरोधमाथि जाँचबुझ गर्नेछ।

महाधिवेशनको मुख्य आकर्षण भने नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन बनेको छ। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले पछिल्लो समय आन्तरिक छलफल र भेटघाटलाई तीव्र बनाएका छन्। आजको उम्मेदवारी दर्तापछि कांग्रेसको आगामी नेतृत्वका लागि प्रतिस्पर्धाको चित्र थप स्पष्ट हुने देखिएको छ।

सम्बन्धित समाचार