कांग्रेस महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र, प्रतिवेदन र विधान संशोधनमा छलफल हुने
1.8k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र हुँदैछ। आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको महाधिवेशनअन्तर्गत सोमबार बन्द सत्रसहित विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्।
कांग्रेसका अनुसार बन्द सत्र बिहान ९ बजेपछि सुरु हुनेछ। बन्द सत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि समसामयिक राजनीतिक विषय तथा पार्टीको आगामी दिशाबारे छलफल हुने बताइएको छ।
महाधिवेशन व्यवस्थापनका अनुसार बन्द सत्रका लागि तीनवटा हलको व्यवस्था गरिएको छ। प्रतिनिधिहरूलाई सहज रूपमा सहभागी गराउन कार्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने तयारी गरिएको छ।
बन्द सत्रमा पार्टीको विधान संशोधन प्रस्तावसमेत अघि बढाइनेछ। विधान संशोधनमाथि छलफलपछि महाधिवेशनको नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ। महाधिवेशनको निर्वाचन कार्यक्रम असोज २१ र २२ गतेका लागि तय गरिएको छ।
यसैबीच, महाधिवेशनको दोस्रो दिन उम्मेदवारी दर्ताको तयारीसमेत गरिएको छ। विभिन्न पदमा प्रतिस्पर्धा गर्न इच्छुक नेता तथा प्रतिनिधिहरूलाई आवश्यक तयारीसहित उपस्थित हुन पार्टीले आग्रह गरेको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ। यसपटकको महाधिवेशन ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प–समुन्नत नेपालको बलियो कांग्रेस’ भन्ने नारासहित आयोजना भइरहेको छ।
आइतबारको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले लोकतन्त्र, संविधान, राष्ट्रिय हित तथा राजनीतिक सहकार्यको आवश्यकतामा जोड दिएका थिए।
अब दोस्रो दिनको बन्द सत्रबाट कांग्रेसले आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक सुधार र नेतृत्व चयनका विषयमा कस्तो निर्णय लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।