दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे वीरेन्द्रनगरमा उच्चस्तरीय बैठक

1.2k Shares

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आइतबार बैठक सुरु भएको हो। बैठकको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका छन्।

बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित राष्ट्रिय तथा प्रदेशस्तरका सम्बन्धित पदाधिकारी र प्रतिनिधिहरू सहभागी छन्।

आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारीका विषयमा बैठकमा छलफल भइरहेको छ।

बैठकमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन, खेलाडीको तयारी, खेलस्थलको अवस्था, प्रतियोगिता सञ्चालनको योजना र अन्य व्यवस्थापकीय पक्षबारे छलफल हुने जनाइएको छ।

कर्णाली प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पूर्वाधार, जनशक्ति तथा व्यवस्थापनको तयारीलाई समयमै पूरा गर्ने विषय बैठकको मुख्य प्राथमिकतामा रहेको बताइएको छ।

सम्बन्धित समाचार