महाधिवेशनमा अतिथिदेखि प्रतिनिधिसम्मको व्यवस्थापन पूरा, २०० स्वयंसेवक खटिए

1.1k Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई व्यवस्थित बनाउन पार्टीका तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ।

स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाका अनुसार महाधिवेशनस्थलको सुरक्षा तथा व्यवस्थापनका लागि नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय गरिएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, विशिष्ट अतिथि, पार्टीका शीर्ष नेता तथा शुभेच्छुकको सहज आवतजावतका लागि आवश्यक व्यवस्थापन गरिएको उनले बताए।

लामाका अनुसार स्वयंसेवकहरूले महाधिवेशनस्थलमा प्रवेश, अतिथि व्यवस्थापन तथा अन्य आवश्यक समन्वयको जिम्मेवारी सम्हाल्नेछन्। आगन्तुकका लागि पूर्व र पश्चिमतर्फ गरी दुईवटा प्रवेशद्वारको व्यवस्था गरिएको छ।

विशिष्ट अतिथिका लागि आवश्यक बसोबास तथा अन्य व्यवस्थासमेत मिलाइएको लामाले जानकारी दिए। महाधिवेशन उद्घाटनका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको उनको भनाइ छ।

नेपाली कांग्रेसले काठमाडौंको खुलामञ्चमा आइतबार दिउँसो २ बजे १५औँ महाधिवेशनको उद्घाटन गर्दैछ। महाधिवेशनमा देशभरबाट करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी हुने भएका छन्।

यसैबीच, लामाले आफू १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रहेको उल्लेख गर्दै १५औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने बताएका छन्।

महाधिवेशनको व्यवस्थापनका लागि कांग्रेसले विभिन्न समितिहरू गठन गरेको छ। स्वयंसेवक व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी गणेश लामालाई दिइएको छ।

महाधिवेशनमा सहभागी हुने ठूलो संख्याका प्रतिनिधि तथा अतिथिको व्यवस्थापनलाई ध्यानमा राख्दै प्रवेश, सुरक्षा, आवास, भोजन र स्वास्थ्यलगायतका पक्षमा छुट्टाछुट्टै तयारी गरिएको कांग्रेसले जनाएको छ।

सम्बन्धित समाचार