काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार असोज १८ गते काठमाडौंमा उद्घाटन हुँदैछ। महाधिवेशनको यो मिति पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक यात्रासँग जोडिएको एउटा रोचक संयोगसँग मिल्न पुगेको छ।
असोज १८ गतेकै दिन राजा ज्ञानेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री देउवालाई ‘अक्षम’ भन्दै प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए। करिब २५ वर्षअघि राजाबाट ‘अक्षम’को ट्याग पाएका देउवा यसपटक भने कांग्रेसको महाधिवेशनमा सहभागी नहुँदा लाखौँ नेता तथा कार्यकर्ताको ‘मनबाट बर्खास्त’ हुने राजनीतिक परिस्थितिमा पुगेको विश्लेषण हुन थालेको छ।
त्यतिबेला राजकीय निर्णयबाट पद गुमाएका देउवा अहिले आफ्नै पार्टीको महाधिवेशनमा सहभागी नहुने अवस्थामा पुगेका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी भएर पार्टी एकताको सन्देश दिने तथा अभिभावकीय भूमिका निर्वाह गर्ने अवसर हुँदाहुँदै उनी बाहिर रहने भएपछि यसलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
२५ वर्षअघिको असोज १८ देउवाको राजनीतिक जीवनमा एउटा निर्णायक मोड बनेको थियो। अहिले त्यही असोज १८ मा कांग्रेस नयाँ नेतृत्व चयनको दिशामा अघि बढ्दै गर्दा देउवाको अनुपस्थिति अर्को राजनीतिक संयोगका रूपमा देखिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्नेछ। यस्तो महत्वपूर्ण अवसरमा पूर्वसभापति तथा लामो समय पार्टी नेतृत्व गरेका देउवाको भूमिका स्वाभाविक रूपमा अपेक्षित थियो।
तर, महाधिवेशनबाट अलग रहने उनको निर्णयले पार्टीभित्रको पछिल्लो शक्ति समीकरण र उनको राजनीतिक भूमिकामाथि समेत प्रश्न उठाएको छ। अभिभावकीय भूमिकामा रहेर कांग्रेस एक रहेको सन्देश दिने अवसरबाट मात्र देउवा वञ्चित भएका छैनन्, यसले उनको लामो राजनीतिक यात्रालाई समेत नयाँ ढंगले मूल्यांकन गर्ने परिस्थिति निर्माण गरेको छ।
यसर्थ, २५ वर्षअघि राजा ज्ञानेन्द्रबाट ‘अक्षम’ भन्दै बर्खास्त भएका देउवा र अहिले असोज १८ कै दिन कांग्रेस महाधिवेशनबाट अनुपस्थित रहने देउवाबीचको यो संयोगलाई नेपाली राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।