काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। आइतबार काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे सुरु हुने उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। ओलीको स्थानमा एमालेका महासचिव शंकर पोखरेल सहभागी भएर पार्टीका तर्फबाट शुभकामना दिने भएका छन्।
रास्वपाका सभापति रवि लामिछाने भने आफैं उद्घाटन समारोहमा सहभागी हुने तयारीमा छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड पनि समारोहमा सहभागी भएर सम्बोधन गर्ने तयारीमा रहेको जनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। उनी गृहजिल्ला झापाबाट काठमाडौं आएर महाधिवेशनमा सहभागी हुने जनाइएको छ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने सहभागी नहुने भएका छन्। उनको स्थानमा सहअध्यक्ष शरतसिंह भण्डारीले कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा प्रतिनिधित्व गर्ने बताइएको छ।
नेपाली कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई महाधिवेशन उद्घाटन समारोहमा निमन्त्रणा गरेको छ। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ। उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कांग्रेसको महाधिवेशनमा देशभरबाट करिब ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि महाधिवेशनकै क्रममा अघि बढ्नेछ।