काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि काठमाडौंको ऐतिहासिक खुलामञ्चमा आवश्यक तयारी पूरा गरिएको छ। आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन कार्यक्रमलाई लक्षित गर्दै खुलामञ्चमा मञ्च निर्माणलगायतका अधिकांश काम सम्पन्न भएका छन्।
महाधिवेशनको उद्घाटन तथा बन्द सत्रका लागि छुट्टाछुट्टै मञ्च तयार गरिएको छ। मञ्च निर्माणपछि ध्वनि प्रणाली र प्रकाश जडान, कार्पेट बिछ्याउने तथा प्रतिनिधि र सहभागीका लागि कुर्सी व्यवस्थापनलगायतका कामसमेत अन्तिम चरणमा पुगेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा ५० हजारभन्दा बढी युवा तथा ७ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। महाधिवेशनको नारा ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ तय गरिएको छ। प्रतिनिधिहरूको दर्ता प्रक्रिया यसअघि नै सुरु भइसकेको छ।
यसपटकको महाधिवेशनमा नीति निर्माणलाई समेत विशेष प्राथमिकता दिइएको कांग्रेसले जनाएको छ। उद्घाटनपछि हुने बन्द सत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक तथा सांगठनिक दिशाबारे छलफल हुनेछ। सभापति गगन थापाले आगामी पाँच वर्षका लागि पार्टीले अवलम्बन गर्ने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा परराष्ट्र नीतिसहितको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
महाधिवेशनका प्रतिनिधिहरूको आवास, खानपान तथा अन्य आवश्यक सूचनाका लागि डिजिटल माध्यम प्रयोग गरिएको छ। प्रतिनिधिहरूलाई ह्वाट्सएप, एसएमएस तथा अन्य माध्यमबाट आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।
ऐतिहासिक महत्व बोकेको खुलामञ्चमा लामो समयपछि कांग्रेसको महाधिवेशन आयोजना हुन लागेको हो। कांग्रेस नेताहरूले खुलामञ्चलाई नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्वपूर्ण स्थलका रूपमा व्याख्या गरेका छन्।