निमन्त्रणा दिने शैलीप्रति असन्तुष्टि, देउवा कांग्रेस महाधिवेशन उद्घाटनमा नजाने

1.5k Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। देउवा उद्घाटन समारोहमा सहभागी हुने सम्भावना नरहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

कांग्रेसले असोज १८ गते काठमाडौंको खुलामञ्चमा आयोजना गरेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन देउवालाई निमन्त्रणा पठाएको थियो। उनलाई समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा गरिएको थियो।

तर, निमन्त्रणा दिने शैलीप्रति देउवा पक्ष असन्तुष्ट देखिएको छ। स्वकीय सचिव भानु देउवाका अनुसार शनिबार राति अबेर कांग्रेसको टोली चुनदेवीस्थित देउवा निवास पुगेको थियो। त्यतिबेला घरमा कोही नभएकाले टोलीले निमन्त्रणापत्र बाहिरै छाडेर फर्किएको उनले बताए।

भानुका अनुसार निमन्त्रणा दिनुपर्ने भए केही दिनअघि नै आएर औपचारिक रूपमा दिन सकिने थियो। उनले घरमा कोही नभएको समयमा राति आएर निमन्त्रणापत्र छाडिएको विषयमा असन्तुष्टि जनाएका छन्।

“हिजो राति अबेर आएर निमन्त्रणा बाहिरै छोडेर जानुभएको रहेछ। निमन्त्रणा दिनु नै थियो भने तीन–चार दिनअगाडि नै आएर दिए हुन्थ्यो,” भानुले भने, “घरमा कोही नभएका बेला आएर निमन्त्रणा छोडेर पनि कहीँ हुन्छ ?”

कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीसहितको टोली देउवा निवास पुगेर महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा छाडेको थियो।

निमन्त्रणा प्राप्त भए पनि त्यसको शैलीप्रति देउवा पक्ष असन्तुष्ट रहेकाले पूर्वसभापति देउवा उद्घाटन समारोहमा सहभागी नहुने देखिएको हो।

सम्बन्धित समाचार