जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव

1.4k Shares

वीरगञ्ज । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। पार्टीको दोस्रो महाधिवेशनबाट राउत अध्यक्षमा पुनः चयन भएका हुन्। महासचिवमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्।

अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। एकल उम्मेदवारी भए पनि पार्टीको विधानअनुसार निर्वाचन प्रक्रिया पूरा गर्न मतदान गरिएको थियो। अध्यक्षमा निर्वाचित हुन कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।

महासचिव पदमा भने सञ्जयकुमार यादवसहित तीन जनाबीच प्रतिस्पर्धा भएको थियो। महासचिवका लागि चन्दन सिंह, ममता झा र सञ्जयकुमार यादवले उम्मेदवारी दिएका थिए।

जनमत पार्टीको दोस्रो महाधिवेशन पर्साको वीरगञ्जमा आयोजना गरिएको हो। यसअघि असोज १० गतेदेखि महाधिवेशन गर्ने तयारी भए पनि अविरल वर्षा, बाढी तथा पहिरोका कारण स्थगित गरिएको थियो। स्थगित महाधिवेशन शनिबारदेखि पुनः सुरु गरिएको हो।

महाधिवेशनमा विभिन्न पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए। सात उपाध्यक्ष पदका लागि १४ जना, महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना तथा सात सचिव पदका लागि १० जनाबीच प्रतिस्पर्धा भएको थियो। केन्द्रीय कार्यकारिणी सदस्यका लागि समेत उम्मेदवारी परेको थियो।

निर्वाचन निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समिति पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्। बाँकी ५१ पदमा समावेशी आधारमा मनोनयन गरिने पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता एकतिहाइ पुर्‍याउने व्यवस्था गरिएको छ।

राउतको पुनः नेतृत्वसँगै जनमत पार्टीले आगामी राजनीतिक यात्रा, संगठन विस्तार तथा मधेससहित राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार