विचार मिल्ने कम्युनिस्ट शक्तिसँग एकता र सहकार्य गर्ने प्रचण्डको भनाइ

897 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने कम्युनिस्ट शक्तिसँग सहकार्य र पार्टी एकताको प्रक्रिया अघि बढाउने बताएका छन्।

नेकपा काभ्रे जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले विचार र राजनीतिक दृष्टिकोण मिल्ने शक्तिसँग एकता गर्दै जाने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको बैठकको सर्वसम्मत निर्णय कार्यान्वयन गर्ने क्रममा एमाले र नेकपा मसालसँग कार्यगत एकता सुरु गरिएको छ। आवश्यकता र परिस्थितिअनुसार सातै प्रदेशमा सरकारमा समेत सहभागी भएको उनले बताए।

सडकदेखि सदनसम्म सहकार्य गर्ने प्रस्ताव

प्रचण्डले आगामी दिनमा संसद् र सडक दुवै ठाउँमा कम्युनिस्ट शक्तिबीच सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए।

उनले सडक आन्दोलन तथा सदनभित्र हुने बहस र छलफलमा सहकार्य बढाउँदै लैजानुपर्ने धारणा राखे। स्थानीय तह र प्रदेशसभा निर्वाचनमा समेत सहकार्यलाई थप सुदृढ गर्नुपर्ने उनको भनाइ छ।

संगठन चुस्त बनाउने र युवालाई प्राथमिकता

प्रचण्डले आगामी महाधिवेशनबाट पार्टी संगठनलाई थप चुस्त र प्रभावकारी बनाउने बताए। साथै पार्टीमा युवाको सहभागिता सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकतामा राखिने उनले उल्लेख गरे।

उनका अनुसार संगठन विस्तारसँगै विचार मिल्ने कम्युनिस्ट शक्तिसँग सहकार्य र एकताको प्रक्रियालाई पनि आगामी दिनमा निरन्तरता दिइनेछ।

सम्बन्धित समाचार