काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सम्पन्न भएपछि सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलमा महतले देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको स्मरण गर्दै अब १५औँ महाधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्।
महतले आफूहरू महाधिवेशनको तयारीमा उत्साहका साथ अघि बढिरहेको दाबी गरे। विभिन्न प्रतिकूल परिस्थिति र दबाबका बाबजुद कांग्रेसका नेता तथा कार्यकर्ता आफ्नै खर्चमा कुनै तामझामबिना देशभरका जिल्ला तथा वडा तहमा स्वतःस्फूर्त रूपमा सक्रिय भइरहेको उनको भनाइ छ।
महतले विशेष अधिवेशनका नाममा पार्टीको नियमित प्रक्रिया प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाए। त्यस्तो प्रयासको विरोधमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएको उनले बताए।
पार्टीको मूल आदर्श, मूल्य र मान्यता जोगाउन आफूहरू न्यायको पक्षमा उभिएको उल्लेख गर्दै उनले अदालतबाट समेत आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे।
विशेष अधिवेशनमा सहभागी भएका केही नेता तथा कार्यकर्ता अहिले आफ्नो निर्णयबारे पुनर्विचार गर्दै आधिकारिक प्रक्रिया र अभियानमा फर्किन थालेको महतले दाबी गरे।
उनका अनुसार वडा तहदेखि नै त्यस्ता नेता तथा कार्यकर्ता कांग्रेसको नियमित संगठनात्मक गतिविधिमा पुनः जोडिन थालेका छन्।
महतले पार्टीको आगामी महाधिवेशनलाई नियमित प्रक्रियाअनुसार सम्पन्न गराउँदै कांग्रेसलाई संस्थागत रूपमा अघि बढाउने धारणा राखे।