मानवीय संकटमा परेका १२ देशलाई राष्ट्रसंघको १६ करोड डलर आपतकालीन सहायता

617 Shares

संयुक्त राष्ट्रसंघ । गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघले १६ करोड अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)का अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट १५ करोड अमेरिकी डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको हो।

अपांगता भएका व्यक्तिका लागि थप १ करोड डलर

मानवीय संकटमा रहेका ती १२ देश तथा क्षेत्रमा अपांगता भएका व्यक्तिका तत्कालीन आवश्यकता सम्बोधन गर्न थप १ करोड अमेरिकी डलर छुट्याइएको ओसीएचएले जनाएको छ।

उक्त रकमले संकट प्रभावित अपांगता भएका व्यक्तिसम्म मानवीय सहायता सहज रूपमा पुर्‍याउन तथा सहायता कार्यक्रमलाई थप पहुँचयोग्य र समावेशी बनाउन सहयोग गर्ने राष्ट्रसंघको भनाइ छ।

८ करोड ७० लाख मानिससम्म सहायता पुर्‍याउने लक्ष्य

राष्ट्रसंघका अनुसार यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता रहेका विश्वभरका करिब ८ करोड ७० लाख मानिससम्म जीवनरक्षक सहायता पुर्‍याउने व्यापक प्रयासअन्तर्गत पछिल्लो रकम जारी गरिएको हो।

संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख टम फ्लेचरले मानवीय संकटमा परेकाहरूलाई सहायता पुर्‍याउन आर्थिक स्रोतसँगै राजनीतिक इच्छाशक्तिसमेत आवश्यक रहेको बताएका छन्।

राष्ट्रसंघले आपतकालीन कोषमार्फत तत्काल सहायता आवश्यक पर्ने क्षेत्रमा स्रोत परिचालन गर्दै आएको छ। पछिल्लो सहयोगले खाद्य, स्वास्थ्य, संरक्षण तथा अन्य अत्यावश्यक मानवीय सेवामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार