प्राप्त उपलब्धि जोगाउन फेरि संघर्ष आवश्यक’ : उपेन्द्र यादव

729 Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको बताएका छन्। अधिकार र पहिचानको संरक्षणका लागि मधेसकेन्द्रित राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनले बताएका हुन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले प्राप्त उपलब्धिको रक्षा तथा अधिकार र पहिचानका लागि पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको बताए।

उनले नेपालमा मधेसी समुदाय अझै उत्पीडनमा रहेको दाबी गर्दै अधिकारका लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे। जनमत पार्टी र जसपा नेपालका धेरै राजनीतिक विषयमा समानता रहेको उल्लेख गर्दै उनले दुई दलबीच सहकार्यको आवश्यकता औँल्याए।

यादवले अधिकार र पहिचानका मुद्दामा आफूहरूले ‘अग्रगामी मोर्चा’ गठन गरेर सहकार्यको प्रयास गरिरहेको बताए।

‘मधेस आठ जिल्लामा सीमित छैन’

यादवले मधेसलाई आठ जिल्लामा मात्र सीमित गरिएको भन्दै मेचीदेखि महाकालीसम्मको भूभागलाई मधेसको रूपमा व्याख्या गरे। उनले विगतका सम्झौता र मधेस आन्दोलनका मागको सन्दर्भ उल्लेख गर्दै वर्तमान राजनीतिक तथा संवैधानिक व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरे।

उनले तत्कालीन सरकार र मधेसी मोर्चाबीच भएको आठबुँदे सम्झौतामा ‘एक मधेस, एक स्वायत्त प्रदेश’को विषय समेटिएको दाबी गरे। साथै, संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै उनले मधेसी समुदायमाथि भएको दमनका बीच संविधान जारी गरिएको आरोप लगाए।

यादवले अधिकार र पहिचानका मुद्दामा मधेसकेन्द्रित दलहरूबीच सहकार्यलाई अघि बढाउने आवश्यकता रहेको दोहोर्‍याए। जनमत पार्टीको दोस्रो महाधिवेशन शनिबार वीरगञ्जमा सुरु भएको छ।

सम्बन्धित समाचार