किभको नर्दन ब्रिजमा रुसी प्रहार, पुलबाट यातायात रोकियो

911 Shares

काठमाडौं । युक्रेनको राजधानी किभस्थित नर्दन ब्रिजमा रुसी आक्रमणबाट क्षति पुगेपछि पुलबाट हुने यातायात अस्थायी रूपमा बन्द गरिएको छ।

किभका मेयर भिटाली क्लित्स्कोका अनुसार रुसी सेनाको आक्रमणबाट पुलको सडक सतह तथा ट्रलीबसका माथिल्ला विद्युतीय तारमा क्षति पुगेको छ। क्षतिको अवस्थाका कारण पुलबाट तत्काल यातायात सञ्चालन रोकिएको उनले बताएका छन्।

यो आक्रमण किभको दक्षिणी पुललाई रुसी ड्रोनले पटक–पटक निशाना बनाएको केही समयपछि भएको हो। किभका उत्तरी र दक्षिणी पुलले सहरका पूर्वी तथा पश्चिमी क्षेत्रलाई जोड्ने गर्छन्।

दक्षिणी पुलमाथि भएका अघिल्ला आक्रमणपछि किभको रक्षा परिषद्ले शुक्रबार आपत्कालीन बैठकसमेत बोलाएको थियो। बैठकमा मेयर क्लित्स्कोले रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका कारण सहरका विभिन्न संरचनामा क्षति पुगेको बताएका थिए।

उनका अनुसार रुसी आक्रमणमा किभका महत्वपूर्ण पूर्वाधार, आपूर्ति प्रणाली, आवासीय क्षेत्र तथा अन्य प्रमुख संरचनालाई निशाना बनाइएको छ।

पुटिनको फरक दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनले रुसी ऊर्जा संरचनामा गरेको आक्रमणको जवाफस्वरूप किभका पूर्वाधारलाई निशाना बनाइएको दाबी गरेका छन्।

युक्रेनमा रुसी आक्रमण सुरु भएयता रुसले ऊर्जा तथा अन्य महत्वपूर्ण पूर्वाधारलाई विभिन्न समयमा निशाना बनाउँदै आएको छ। पछिल्लो आक्रमणबाट भएको क्षति र त्यसको जिम्मेवारीबारे भने दुवै पक्षका दाबी फरक छन्।

सम्बन्धित समाचार