काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमार्फत पार्टीको पदाधिकारी संख्या बढाउने तयारी गरेको छ। महाधिवेशनको बन्दसत्रमा विधान संशोधनको प्रस्ताव पेस गरी पदाधिकारी संख्या थप गर्ने तयारी भइरहेको हो।
विधान संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले प्रस्तावमाथि छलफल गरिरहेको छ। पदाधिकारीको संख्या कति बढाउने भन्ने विषयमा भने शीर्ष नेताबीच आजै टुंगो लगाउने तयारी रहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्।
उनका अनुसार उपसभापति र महामन्त्रीमा एक–एक पद थप गर्ने विषय लगभग निश्चित भएको छ। त्यस्तै, नेताहरूको व्यवस्थापनलाई ध्यानमा राख्दै सहमहामन्त्रीको संख्या पनि बढाउने विषयमा छलफल भइरहेको छ। सहमहामन्त्री कति थप्ने भन्नेबारे भने अन्तिम निर्णय भइसकेको छैन।
हाल कांग्रेसको विधानअनुसार सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना र विभिन्न समावेशी क्लस्टरबाट आठ जना सहमहामन्त्री रहने व्यवस्था छ।
एक पदाधिकारीका अनुसार सहमहामन्त्रीको संख्या चारदेखि पाँच जनासम्म थप गर्ने विषयमा छलफल भइरहेको छ।
‘विधान संशोधन समितिमा छलफल भइरहेको छ। उपसभापति र महामन्त्री एक–एक जना थपिने निश्चितजस्तै भएको छ। नेताहरूको व्यवस्थापनका लागि सहमहामन्त्रीको संख्या पनि बढाउने तयारी छ,’ उनले भने, ‘कति थप्ने भन्ने टुंगो लागेको छैन, चार–पाँच जनासम्म बढ्न सक्छ।’
कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको आवश्यकता र समयअनुसार विधान संशोधनसम्बन्धी विषय महाधिवेशनबाट टुंगो लगाइने बताएका छन्।
विधान संशोधन समितिले तयार गर्ने प्रस्तावमाथि महाधिवेशनको बन्दसत्रमा छलफल हुने र त्यसपछि पदाधिकारीको संख्या तथा अन्य व्यवस्थाबारे निर्णय हुने कांग्रेसले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा हुँदैछ। महाधिवेशनबाट नयाँ नेतृत्वसँगै पार्टीको सांगठनिक संरचना र विधानसम्बन्धी विभिन्न विषयमा समेत निर्णय हुने तयारी छ।