कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

771 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेता डा. सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले शनिबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै पार्टीको नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। महामन्त्री पदमा पनि विभिन्न नेताहरूले दाबी प्रस्तुत गरिरहेका छन्।

उम्मेदवारी घोषणा गर्दै शर्माले राज्यलाई जनतासँग र जनताको आवाजलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने उद्देश्यसहित आफू महामन्त्री पदमा प्रतिस्पर्धा गर्न लागेको बताए।

‘राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रूपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछु,’ शर्माले भने।

कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।

महामन्त्री पदका लागि सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गर्ने तथा आकांक्षा व्यक्त गर्ने नेताहरूको संख्या बढ्दै गएको छ। कांग्रेस विधानअनुसार हाल दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था रहे पनि पदाधिकारी संख्या थप गर्ने विषयमा समेत पार्टीभित्र छलफल चलिरहेको छ।

सम्बन्धित समाचार