तीन घण्टाको अडियो प्रमाण हराएको पीडित पक्षको दाबी

974 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा विचाराधीन साइबर कसुरसम्बन्धी मुद्दामा पेश गरिएको अडियो प्रमाण हराएको पीडित पक्षले दाबी गरेको छ।

मुद्दाकी पीडित तथा अधिवक्ता मनिषा गौतमका अनुसार उनले प्रहरी र सरकारी वकिलमार्फत मुद्दामा लिपिबद्ध गर्न करिब तीन घण्टा लामो अडियो ८ जीबीको पेनड्राइभमा अदालतमा पेश गरेकी थिइन्। तर, अदालतमा प्रमाण लिपिबद्ध गर्ने क्रममा उक्त अडियो नभेटिएको र हाल करिब तीन मिनेटको अडियो मात्र रहेको जानकारी दिइएको उनको भनाइ छ।

गौतमले पेनड्राइभ बुझाउनुअघि प्रहरी तथा सरकारी वकिलले समेत उक्त अडियो सुनेको दाबी गरेकी छन्। उनका अनुसार सरकारी वकिल निष्ठा कर्माचार्य पनि पेनड्राइभमा अडियो रहेको विषयमा जानकार थिइन्।

‘तीन मिनेटको मात्रै अडियो हुन्थ्यो भने ८ जीबीको पेनड्राइभ किन बुझाउँथेँ ?’ गौतमले प्रश्न गर्दै प्रमाण कसरी हरायो भन्ने विषयमा छानबिन हुनुपर्ने बताइन्।

उनले अदालतमा बुझाइएको प्रमाण कर्मचारीको मिलेमतोमा हटाइएको हुनसक्ने आशंका व्यक्त गरेकी छन्। प्रमाण नै सुरक्षित नरहने अवस्था भए पीडितले न्यायको अपेक्षा कसरी गर्ने भन्ने उनको प्रश्न छ।

यस विषयमा काभ्रे जिल्ला अदालतका स्रेस्तेदार सञ्जित गौतमले आफूलाई विस्तृत जानकारी नभएको बताए। उनका अनुसार इजलासमा प्रमाण कसले हेरे भन्ने विषयमा आफू जानकार नरहेको भए पनि अदालतले लिपिबद्ध गर्दा पेनड्राइभमा उपलब्ध सामग्रीअनुसार नै प्रक्रिया अघि बढाएको हो।

सुनारविरुद्ध गौतमले सामाजिक सञ्जालमार्फत चरित्र हत्या तथा अदालतको अवहेलनासम्बन्धी आरोप लगाउँदै मुद्दा अघि बढाएकी हुन्। उक्त प्रकरणमा पक्राउ परेका सुनार ५० हजार रुपैयाँ धरौटीमा रिहा भएको विवरण पनि सार्वजनिक भएको छ।

गौतमले सुनारमाथि आफूलाई सामाजिक सञ्जालमा अपमानजनक अभिव्यक्ति दिएको तथा विभिन्न फेसबुक समूहमा आफ्नो तस्बिर प्रयोग गरी भ्रम फैलाएको आरोप लगाएकी छन्। केही न्यायाधीशको नाम उल्लेख गर्दै उनीहरूविरुद्ध नाराबाजी गर्न उक्साएको आरोपसमेत उनले लगाएकी छन्।

यस विषयमा लगाइएका आरोप तथा अदालतमा पेश गरिएको प्रमाण हराएको दाबीको आधिकारिक छानबिन वा अदालतको अन्तिम निष्कर्ष भने सार्वजनिक हुन बाँकी छ।

सम्बन्धित समाचार