नीति तथा योजना आयोगको उपाध्यक्ष बने देवराज रोका, तीन सदस्य पनि नियुक्त

1.1k Shares

काठमाडौं । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त भएका छन्।

मुख्यमन्त्री किरण थापा मगरले काठमाडौंको पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रोका सहित आयोगमा चार जनालाई नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा सुनिता गौतम, दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापालाई नियुक्त गरेको छ।

नवनियुक्तमध्ये उपाध्यक्ष रोका र सदस्य दीपक विक्रम थापा नेकपा एमालेको सिफारिसमा नियुक्त भएका हुन्। सदस्य सुरेन्द्रवर सिंह थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा तथा सुनिता गौतम नेकपाको सिफारिसमा नियुक्त भएको जनाइएको छ।

नवनियुक्त उपाध्यक्ष रोका तथा सदस्यद्वय दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। आयोगकी सदस्य सुनिता गौतमको शपथ भने पछि हुने बताइएको छ।

प्रदेश सरकारको नीति निर्माण, विकास योजना तर्जुमा तथा दीर्घकालीन विकास रणनीति तयार गर्ने काममा नीति तथा योजना आयोगको भूमिका महत्वपूर्ण रहने गर्छ। नयाँ पदाधिकारी नियुक्त भएसँगै आयोगले प्रदेशको विकास योजना र नीति निर्माणसम्बन्धी कामलाई अघि बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार