काठमाडौं । नामी इन्टरनेसनल स्कुल एन्ड कलेजमा आयोजित आन्तरिक चेस प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन्।
थापाथली चेस पार्कको प्राविधिक सहयोगमा नामी कलेज परिसरमा असोज १५ गते सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूले छात्र तथा छात्रातर्फ विभिन्न चरणमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको छात्रतर्फ सुमन ठोकर प्रथम, आयुष फुयाल द्वितीय र आशिष न्यौपाने तृतीय भए। त्यस्तै, छात्रातर्फ मेनुका मोक्तान तामाङ प्रथम, सितल श्रेष्ठ द्वितीय र जेनी राई तृतीय स्थान हासिल गर्न सफल भए।
चेस खेलप्रति विद्यार्थीहरूको रुचि बढाउनुका साथै उनीहरूको रणनीतिक सोच, निर्णय क्षमता र एकाग्रता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कलेजले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा र क्षमता विकास गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।