भैरहवामा आयल निगमको तेल चोरी गर्दै गरेका दुई ट्याङ्कर नियन्त्रणमा

1.8k Shares

बुटवल । भारतबाट रुपन्देहीको भलवारी डिपोतर्फ ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजेको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो। भारतबाट ल्याइएको पेट्रोलियम पदार्थ तोकिएको गन्तव्यमा पुर्‍याउनुअघि नै निकालेर चोरी गर्न खोजिएको प्रारम्भिक विवरण छ।

प्रहरीले घटनामा संलग्न ट्याङ्कर तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने अनियमितता तथा चोरी नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको छ।

नियन्त्रणमा लिइएका ट्याङ्करबाट कति परिमाणमा तेल निकालिएको थियो र घटनामा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धानपछि थप विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ।

नेपाल आयल निगमको डिपोमा पुर्‍याउनुपर्ने पेट्रोलियम पदार्थ बाटोमै अनधिकृत रूपमा निकाल्ने तथा बिक्री गर्ने प्रयासले इन्धन आपूर्ति प्रणालीमा समेत असर पार्न सक्ने भएकाले घटनालाई गम्भीर रूपमा लिइएको छ।

 
 
 
सम्बन्धित समाचार