रासायनिक मलको अभाव र अडियो प्रकरणबारे कृषि मन्त्रीसँग सांसदको जवाफ माग

1.1k Shares

काठमाडौँ । रासायनिक मलको अभाव, वितरण प्रणालीमा देखिएको बेथिति तथा कृषि मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे सांसदहरूले कृषि मन्त्री र सचिवको ध्यानाकर्षण गराएका छन्।

मन्त्रालयको पछिल्लो छ महिनाको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले किसानले मल नपाइरहेको अवस्थामा मन्त्रालयको तथ्यांकमा भने पर्याप्त मल मौज्दात देखिने विरोधाभासबारे जवाफ माग गरेका हुन्।

सांसद खगेन्द्र कर्णले मन्त्रालयमा मन्त्रीको सक्रियता देखिए पनि कामकारबाहीमा अपेक्षित गति आउन नसकेको बताउनुभयो। टेन्डर प्रक्रियामा हुने ढिलाइ र मल वितरणमा भइरहेको चुहावटका कारण किसान समस्यामा परेको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षमा मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो।

सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिमलगायत विभिन्न जिल्लाका किसानले भोगिरहेका समस्या तथा कृषि उपजको बजारीकरणमा देखिएका जटिलताबारे लिखित जवाफ माग गर्नुभयो। उहाँले कृषिमा युवाको आकर्षण बढाउने उपाय, जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असर तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट विकसित प्रविधि किसानको खेतसम्म पुग्न नसकेको विषयमा १३ बुँदामा प्रश्न उठाउनुभयो।

बैठकमा सांसद पुनम अग्रवाल र लक्ष्मीप्रसाद पोखरेलले सामाजिक सञ्जालमा चर्चामा आएको कृषि मन्त्रालयसँग जोडिएको अडियो प्रकरणबारे समितिमा स्पष्टीकरण दिन माग गर्नुभयो। नार्कको कार्यकारी निर्देशक नियुक्तिका विषयमा समेत प्रश्न उठाउँदै उहाँहरूले विवादमा आएका व्यक्तिलाई पुनः नियुक्ति गर्नुपर्ने अवस्थाबारे मन्त्रीसँग जवाफ माग गर्नुभयो।

सांसद सुरेशकुमार चौधरीले स्पष्ट भूउपयोग नीति र सिँचाइको खाका नहुँदा कृषि क्षेत्र क्रमशः खुम्चिँदै गएको बताउनुभयो। अर्गानिक मललाई प्राथमिकता दिने निर्णय भए पनि कार्यान्वयनमा मन्त्रालय उदासीन रहेको उल्लेख गर्दै उहाँले रासायनिक मलमाथिको निर्भरता घटाउनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, सांसद सागर ढकालले समितिले साना विषयमा अल्झिनुभन्दा नीतिगत र दीर्घकालीन कृषि सुधारका विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले किसानका तत्कालीन समस्यासँगै कृषि क्षेत्रको दीर्घकालीन सुधारका लागि आवश्यक नीतिगत कामलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

सम्बन्धित समाचार