काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका निर्वाचन आयोगलाई औपचारिक रूपमा जानकारी गराएको छ।
देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिएका छन्। पत्रमा आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ।
देउवा समूहले अघि सारेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिएको छ। त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
नेता साउदका अनुसार महाधिवेशनको तिथिमितिसहितको सम्पूर्ण विवरण निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गरिएको हो।
यसअघि कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने कार्यतालिका सार्वजनिक गरिसकेको छ। पार्टीभित्रका दुई पक्षले छुट्टाछुट्टै कार्यतालिका अघि बढाएपछि महाधिवेशनको प्रक्रिया तथा पार्टीको आधिकारिकतासम्बन्धी विषयमा विवाद देखिएको छ।
दुवै पक्षले आ–आफ्नो कार्यतालिका अघि बढाएसँगै नेपाली कांग्रेसको आगामी महाधिवेशन कुन प्रक्रियाअनुसार अघि बढ्ने भन्ने विषय थप पेचिलो बनेको छ।