काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच सहमति कायम गर्ने प्रयास तीव्र भएको छ। दुवै पक्षलाई समेटेर महाधिवेशन अघि बढाउने विभिन्न विकल्पमाथि छलफल भइरहेको छ।
पार्टीको संस्थापन पक्षले पूर्वसभापति देउवालाई महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व गराउने र सभापति गगन थापालाई बन्दसत्रको सभापतित्व गराउने विकल्पमा सकारात्मक संकेत दिएको छ। देउवा पक्षका नेता वीरबहादुर बलायरले पनि पार्टी एकताका लागि यस्तो प्रस्ताव अघि सारेका छन्।
संस्थापन पक्षले देउवालाई उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी गराउने वा उनकै अध्यक्षतामा उद्घाटन सत्र सञ्चालन गर्ने दुई विकल्पमा छलफल गरिरहेको बताइएको छ। महामन्त्री प्रदीप पौडेलले पनि महाधिवेशनअघि सहमतिका लागि आफूहरू सकारात्मक रहेको बताएका छन्।
तर देउवा पक्षभित्र भने प्रस्तावबारे एउटै धारणा बनिसकेको छैन। नेता एनपी साउदले उद्घाटन सत्रको अध्यक्षता वा प्रमुख अतिथि बनाउने विषयबाट मात्रै पार्टीभित्रको विवाद समाधान नहुने धारणा राखेका छन्। उनले महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले सहमतिका लागि थप राजनीतिक तथा सांगठनिक विषयमा छलफल आवश्यक रहेको बताएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा देउवा पक्षलाई समेट्न सभापतिले मनोनयन गर्न पाउने ७५ जनाको कोटा बढाउने तथा आवश्यक परे विधान संशोधन गर्ने विकल्पसमेत छलफलमा आएको छ। दुवै पक्षबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिलाई समेटेर अघि बढ्ने प्रस्ताव पनि अघि सारिएको छ।
यसैबीच, देउवा पक्षले छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाउने तालिका सार्वजनिक गरिसकेको छ। उसले असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका, असोज २३ गते क्षेत्रीय अधिवेशन तथा त्यसपछि जिल्ला र प्रदेश अधिवेशन गर्दै मंसिर २१ देखि २३ गतेसम्म समानान्तर केन्द्रीय महाधिवेशन गर्ने तालिका राखेको छ।
महामन्त्री पौडेलका अनुसार यसअघि देउवा पक्षबाटै अधिवेशन आयोजक संयन्त्र बनाएर महाधिवेशन अघि बढाउने प्रस्ताव आएको थियो। सभापति थापाले आफ्नो नेतृत्व नरहे पनि देउवा पक्षले प्रस्ताव गरेको व्यक्तिको नेतृत्वमा संयन्त्र बनाएर अघि बढ्न सकिने सहमति दिएको उनको भनाइ छ।
बाढीपहिरो र राजमार्ग अवरुद्ध भएका कारण महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकामा समेत केही हेरफेर हुन सक्ने अवस्था देखिएको कांग्रेस नेताहरूले बताएका छन्। यही समयलाई पार्टीभित्रको विवाद समाधान र दुवै पक्षलाई एउटै प्रक्रियामा ल्याउने अवसरका रूपमा प्रयोग गर्ने प्रयास भइरहेको छ।