काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ। कांग्रेसले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उद्घाटन कार्यक्रम दिउँसो २ बजे हुनेछ।
यसअघि कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि सुरु गर्ने तयारी थियो। तर विभिन्न क्षेत्रमा परेको भारी वर्षाका कारण अधिवेशनका केही प्रक्रिया प्रभावित भएपछि उद्घाटन मिति दुई दिन पछि सारिएको हो।
कांग्रेसका अनुसार महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रक्रिया भने विभिन्न स्थानमा जारी छ।
भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको कांग्रेसले जनाएको छ। यही अवस्थालाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटनको नयाँ मिति र स्थान तय गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
महाधिवेशनको तयारीसँगै प्रतिनिधि चयन तथा क्षेत्रीय अधिवेशनका बाँकी प्रक्रिया सम्पन्न गर्ने काम पनि अघि बढिरहेको कांग्रेसले जनाएको छ। खुलामञ्चमा हुने उद्घाटन समारोहपछि महाधिवेशनका अन्य कार्यक्रम निर्धारित कार्यतालिकाअनुसार अघि बढाइनेछ।