काठमाडौं । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) को अध्यक्षमा निर्वाचित भएका छन्। उनीसँगै पूर्वविश्व चेस च्याम्पियन भारतका विश्वनाथन आनन्द वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्।
उज्बेकिस्तानको समरकन्दमा शनिबार सम्पन्न फिडे महासभाको दोस्रो चरणको मतदानमा तुर्लोभले जर्मन उद्यमी वादिम रोजेनस्टाइनलाई पराजित गरेका हुन्। तुर्लोभको अध्यक्षीय कार्यकाल चार वर्षको हुनेछ। निर्वाचनमा सहभागी तेस्रो उम्मेदवार जर्मनीका जान हेनरिक्स बटनर भने पहिलो चरणको मतदानबाटै बाहिरिएका थिए।
फिडेको निर्वाचन प्रक्रियामा नेपालले सुरुदेखि नै तुर्लोभ र विश्वनाथन आनन्दको समूहलाई समर्थन गर्दै प्रचारप्रसारमा समेत सहयोग गरेको समाचारमा उल्लेख छ।
निर्वाचनमा विजयी भएपछि तुर्लोभले नेपाल चेस महासंघको टोलीप्रति आभार व्यक्त गरेका छन्। उनले नेपालको चेस विकासका लागि विभिन्न योजना कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको बाह्रखरीले जनाएको छ।
फिडेको नेतृत्वमा तुर्लोभ निर्वाचित भएसँगै नेपालले चेस क्षेत्रमा गरेको सहयोग र आगामी दिनमा नेपाली चेसको विकासका लागि हुन सक्ने सहकार्यलाई चासोका साथ हेरिएको छ।