नेपाल–श्रीलंका क्रिकेटमा फेरि वर्षाको संयोग, खेल नहुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

2.6k Shares

काठमाडौं । नेपाल र श्रीलंकाबीचको पुरुष टी–२० क्रिकेटमा फेरि एकपटक वर्षा बाधक बनेको छ। एसियाली खेलकुदअन्तर्गत मंगलबार जापानको नागोयास्थित कोरोगी एथलेटिक पार्कमा तय भएको क्वार्टरफाइनल खेल भारी वर्षाका कारण टससमेत हुन नसकी रद्द भएको हो।

खेल रद्द भएपछि प्रतियोगिताको नियमअनुसार माथिल्लो वरीयतामा रहेको श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। एसियाली खेलकुदमा समूह चरणमा समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको नेपालका लागि वर्षाका कारण खेल्नै नपाई प्रतियोगिताबाट बाहिरिनुपरेको हो।

नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बनेको यो पहिलोपटक भने होइन। सन् २०२४ को टी–२० विश्वकपमा पनि यी दुई टोलीबीचको खेल फ्लोरिडाको लाउडरहिलमा भारी वर्षाका कारण टससमेत हुन नसकी रद्द भएको थियो। त्यसबेला दुवै टोलीले एक–एक अंक बाँडेका थिए।

यसअघि सन् २०१० को ग्वाङ्झाउ एसियाली खेलकुदमा नेपाल र श्रीलंका क्वार्टरफाइनलमा आमनेसामने भएका थिए। उक्त खेलमा नेपालले ७२ रन बनाएको थियो भने श्रीलंकाले १८.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्दै दुई विकेटको जित निकालेको थियो। यद्यपि, उक्त खेललाई आईसीसीले टी–२० अन्तर्राष्ट्रियको मान्यता दिएको थिएन।

त्यसपछि १४ वर्षपछि २०२४ को विश्वकपमा यी दुई टोलीबीच आधिकारिक टी–२० अन्तर्राष्ट्रिय खेल हुने तय भएको थियो। तर वर्षाका कारण खेल हुन सकेन। अहिले एसियाली खेलकुदमा पुनः भेट तय भए पनि मौसमकै कारण खेल रद्द भएपछि नेपाल र श्रीलंकाबीचको आधिकारिक प्रतिस्पर्धाको प्रतीक्षा अझै लम्बिएको छ।

नेपालले यस प्रतियोगिताको समूह चरणमा अफगानिस्तानलाई पराजित गरेको थियो। जापानविरुद्धको खेल पनि वर्षाका कारण प्रभावित भएपछि नेपाल समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको थियो। तर श्रीलंकाविरुद्धको निर्णायक खेलमा पनि वर्षा बाधक बनेपछि नेपालले मैदानमा प्रतिस्पर्धा गर्ने अवसर नै पाएन।

नेपाल र श्रीलंकाबीच आगामी दिनमा हुने भेटमा भने मौसमले कस्तो साथ दिन्छ भन्ने प्रतीक्षाको विषय बनेको छ।

सम्बन्धित समाचार