भारतमा ‘जेल भरो आन्दोलन’ घोषणा गर्दै कक्रोच जनता पार्टी, निर्वाचन प्रमुखको राजीनामा माग
1k
Shares
काठमाडौं । भारतको कक्रोच जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ‘जेल भरो आन्दोलन’ घोषणा गरेको छ। पार्टीका संस्थापक अभिजित दिप्केले अक्टोबर २ मा मुम्बईको शिवाजी पार्कमा आन्दोलन गर्ने घोषणा गरेका हुन्।
सीजेपीले यसअघि पनि मुख्य निर्वाचन आयुक्त कुमारलाई पदबाट राजीनामा दिन ४८ घण्टाको समयसीमा दिएको थियो। माग पूरा नभए देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिँदै आएको पार्टीले अहिले ‘जेल भरो आन्दोलन’ अघि सारेको हो।
निर्वाचन आयोगसँग सम्बन्धित मतदाता नामावली संशोधनका विषयमा विवाद उठिरहेका बेला सीजेपीले निर्वाचन आयोगको नेतृत्वमाथि प्रश्न उठाएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार मतदाता विवरण संशोधनमा अनियमितता भएको आरोपसमेत लगाइएको छ। निर्वाचन आयोगले भने आफ्ना काम कानुनअनुसार भइरहेको र आयुक्तहरूबीचको मतभिन्नता संस्थागत प्रक्रियाको सामान्य हिस्सा भएको जनाएको छ।
यसैबीच मुम्बई प्रहरीले प्रस्तावित प्रदर्शनका लागि अनुमति नदिएको जनाइएको छ। अनुमति नदिए पनि आन्दोलन अघि बढाउने दिप्केले बताएका छन्।
सीजेपीले यसअघि जुलाईमा भएको युवा आन्दोलनपछि पनि राजनीतिक दबाब सिर्जना गरेको थियो। पछिल्लो आन्दोलन भने भारतको निर्वाचन प्रणाली र मतदाता नामावलीसँग सम्बन्धित विषयमा केन्द्रित रहेको जनाइएको छ।