पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न नदिएको विषयमा एसएसपी खड्कासँग मानव अधिकार आयोगले लियो लिखित बयान

1.3k Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग लिखित बयान लिएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला आयोगको टोलीलाई भेट्न तथा अनुगमन गर्न नदिएको विषयमा आयोगले खड्कासँग बयान लिएको हो।

आयोगको टोली असोज १२ गते जबरालाई भेट्न तथा हिरासत अवस्थाको अनुगमन गर्न टेकुस्थित कार्यालय पुगेको थियो। तर प्रहरीले आयोगको टोलीलाई भित्र प्रवेश गर्न नदिएपछि टोली फर्किएको थियो। त्यसपछि आयोगले घटनाबारे चासो जनाउँदै एसएसपी खड्कालाई स्पष्टीकरण तथा बयानका लागि बोलाएको थियो।

आयोगले जबराको हिरासत, आयोगको अनुगमन टोलीलाई प्रवेशमा रोक लगाइएको अवस्था तथा त्यस क्रममा मानव अधिकार र संवैधानिक व्यवस्थाको पालना भए–नभएको विषयमा जानकारी लिएको जनाएको छ। आयोगका अनुसार घटनाको वास्तविक अवस्था बुझ्न सम्बन्धित प्रहरी अधिकारीसँग बयान लिइएको हो।

पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले सुरक्षा जोखिम रहेको भन्दै महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा राखेको थियो। हिरासत अनुगमनका क्रममा आयोगको टोलीलाई प्रवेश नदिइएको घटनापछि प्रहरी र मानव अधिकार आयोगबीचको विषय सार्वजनिक चर्चामा आएको हो।

 
 
 
सम्बन्धित समाचार