हर्मुज जलघाँटी खुलाउने प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षामा इरान

3.8k Shares

तेहरान । इरानले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा अमेरिकाबाट मंगलबार औपचारिक जवाफ प्राप्त हुने अपेक्षा गरेको जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार कतारको मध्यस्थतामा दुई देशबीच प्रस्तावमाथि छलफल भइरहेको छ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका अराघचीले सोमबार राति कतारी मध्यस्थकर्ताले प्रस्तुत गरेका विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार कतारी मध्यस्थकर्ताले अमेरिकी पक्षसँग पुनः छलफल गरेपछि त्यसको अन्तिम प्रतिक्रिया इरानलाई उपलब्ध गराउनेछन्।

अराघचीले कतारी मध्यस्थकर्ताहरूले मंगलबारसम्म प्रक्रिया टुङ्गोमा पुग्ने अपेक्षा गरेको बताए। अहिलेको मुख्य विषय हर्मुज जलघाँटी रहेको उल्लेख गर्दै उनले जलमार्ग पुनःखोल्न इरानले अघि सारेका केही सर्त पूरा हुनुपर्ने बताए।

अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण हर्मुज जलघाँटीमा तनाव बढेको छ। युद्ध सुरु हुनुअघि विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।

द्वन्द्वपछि इरानले हर्मुजमा नाकाबन्दी लगाएपछि अमेरिकाले पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको जनाइएको छ। यही क्रममा गत साता न्युयोर्कमा अराघची, अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरबीच छलफल भएको थियो।

इरानले अमेरिकी नाकाबन्दी हटाउनुअघि लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम हुनुपर्ने माग राखेको छ। साथै विदेशमा रोक्का रहेका आफ्ना सम्पत्ति फुकुवा, तेल क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउने र अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने माग पनि इरानले अघि सारेको छ।

हर्मुज जलघाँटी विश्वको महत्वपूर्ण ऊर्जा व्यापारिक मार्गमध्ये एक भएकाले यसको सञ्चालनमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त हुँदै आएको छ।

सम्बन्धित समाचार