बालेनको भ्रमणलाई सीसँग जोडेको भन्दै ज्वालाले उठाइन् पुराना नेतृत्वमाथि प्रश्न

2k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा भ्रमणलाई चीनका राष्ट्रपति सी चिनफिङसँग जोडेर प्रतिपक्षले उठाएको प्रश्नको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौला ‘ज्वाला’ले प्रतिनिधिसभाबाटै जवाफ दिएकी छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्री बालेनको विदेश भ्रमणबारे प्रश्न उठाउँदा विगतका नेतृत्वको कार्यसम्पादन र नेपालको कूटनीतिक अवस्थाबारे पनि समीक्षा गर्नुपर्ने बताइन्।

उनले बालेनको भ्रमणलाई सी चिनफिङसँग जोडेर प्रश्न उठाइएको भन्दै भनिन्, ‘उहाँ (बालेन)को भ्रमणलाई सी चिनफिङसँग जोड्नु भएको छ । सी चिनफिङभन्दा अगाडिका नेताले देशलाई कस्तो बनाएका थिए ? बालेनभन्दा अगाडिका नेताले देशलाई कस्तो बनाएका थिए, यो मनन गर्ने कि नगर्ने ?’

सांसद संग्रौलाले विगतका नेतृत्वका कारण नेपालको कूटनीतिक हैसियत कमजोर बनेको आरोपसमेत लगाइन्। उनले वर्तमान सरकार र प्रधानमन्त्रीको विदेश भ्रमणमाथि प्रश्न उठाउँदा त्यसको पृष्ठभूमिमा नेपालको विगतको कूटनीतिक अभ्यास र उपलब्धिलाई समेत हेर्नुपर्ने धारणा राखिन्।

प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका गएका थिए। उनको भ्रमणका क्रममा विभिन्न देशका नेतासँग भेटवार्ता तथा नेपालको प्राथमिकताका विषयमा छलफल भएको थियो।

बालेनको विदेश भ्रमण र विभिन्न अन्तर्राष्ट्रिय नेतासँगको भेटघाटलाई लिएर संसद् तथा राजनीतिक वृत्तमा बहस भइरहेका बेला सांसद संग्रौलाको यस्तो भनाइ आएको हो।

सम्बन्धित समाचार