मकवानपुर कांग्रेस अधिवेशन : बानियाँ–डिनाविरुद्ध आनन्द–ईश्वर समूह मैदानमा

932 Shares

मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरमा गाउँ–नगर अधिवेशनको तयारीसँगै पार्टीभित्रको समूहगत प्रतिस्पर्धा पनि देखिएको छ। मकवानपुरमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ समूहविरुद्ध आनन्दराम पराजुली र ईश्वर पाठक समूह मैदानमा उत्रिएको छ।

अधिवेशन वर्षाका कारण निर्धारित समयभन्दा केही ढिला भएको थियो। अब हुने अधिवेशनमा स्थानीय तहको नेतृत्वका लागि विभिन्न समूहले आफ्ना उम्मेदवार अघि सारेका छन्।

हेटौँडा उपमहानगरपालिकाको सभापति पदमा बानियाँ–डिना पक्षबाट कविन सांगामीलाई अघि सारिएको छ भने आनन्दराम पराजुली पक्षबाट रामकृष्ण कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन्। कोइराला हेटौँडा–१६ का वडाध्यक्ष तथा नगर समितिका उपसभापति हुन् भने सांगामी कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव हुन्।

यसअघि हेटौँडाको नगर सभापतिका लागि पराजुली र बानियाँ–डिना पक्षबीच प्रतिस्पर्धा हुने अवस्था बनेको थियो। विशेष महाधिवेशनपछि मकवानपुर कांग्रेसमा विभिन्न नेताहरूबीचको समीकरणमा पनि परिवर्तन आएको बताइएको छ।

मकवानपुरका अधिकांश स्थानीय तहमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि केही स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन हुने अवस्था बनेको छ। यसअघि सम्पन्न स्थानीय तहका अधिवेशनमा हेटौँडाबाहेक अधिकांश पालिकाको सभापति पदमा बानियाँ–डिना पक्षका उम्मेदवारहरू निर्वाचित भएका थिए।

अधिवेशनसँगै मकवानपुर कांग्रेसको आगामी जिल्ला तथा केन्द्रीय महाधिवेशनमा प्रभाव पार्ने गरी स्थानीय तहको नेतृत्व चयनलाई महत्त्वका साथ हेरिएको छ।

 
 
 
सम्बन्धित समाचार