शान्ति सुरक्षाको माग गर्दै चोलेन्द्रले प्रहरीमा दिए निवेदन

1.1k Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र आफ्नो परिवारको शान्ति तथा सुरक्षाको व्यवस्था गर्न माग गर्दै प्रहरीमा निवेदन दिएका छन्।

जबराले पछिल्लो घटनाक्रम र उत्पन्न सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आफू तथा परिवारका सदस्यको सुरक्षामा आवश्यक प्रबन्ध मिलाउन प्रहरीसमक्ष आग्रह गरेका हुन्।

यसअघि सुरक्षा जोखिम रहेको भन्दै प्रहरीले जबरालाई काठमाडौंको महाराजगञ्जस्थित निवासबाट टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। प्रहरीले सुरक्षा खतराको सूचनाका आधारमा उनलाई सुरक्षित स्थानमा राखिएको जनाएको थियो। पछि उनी प्रहरी नियन्त्रणबाट रिहा भएका थिए।

जबरालाई प्रहरी कार्यालयमा लगिएको घटनालाई लिएर विभिन्न क्षेत्रबाट प्रश्नसमेत उठेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रहरी कार्यालयमा पुगेर जबरासँग भेट तथा घटनाबारे जानकारी लिन खोज्दा रोकिएको भन्दै आपत्ति जनाएको थियो।

प्रहरीले भने जबराको सुरक्षालाई ध्यानमा राखेर आवश्यक कदम चालिएको बताउँदै आएको छ। अहिले जबराले नै शान्ति तथा सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएपछि उनको सुरक्षा व्यवस्थाबारे थप चासो बढेको छ।

सम्बन्धित समाचार