पोखरा । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण मनाङको जनजीवन अत्यन्तै प्रभावित भएको छ। मनाङका सांसद टेकबहादुर गुरुङले जिल्लाको अवस्था गम्भीर र जनताको अवस्था भयावह रहेको बताएका छन्।
लगातारको वर्षाका कारण मनाङका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ। विशेषगरी चामे आसपासका बस्तीमा पहिरो खस्ने क्रम नरोकिँदा स्थानीयवासी त्रसित बनेका छन्। सडक अवरुद्ध हुँदा आवतजावत प्रभावित भएको छ भने कतिपय क्षेत्रमा सञ्चार तथा विद्युत् सेवा समेत अवरुद्ध भएको जनाइएको छ।
मनाङको तालगाउँ पनि मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा परेको छ। बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर तथा दक्षिणतर्फका सडक अवरुद्ध भएपछि स्थानीयवासी गाउँमै फसेका छन्। उनीहरूलाई स्वास्थ्य चौकी र विद्यालय भवनमा राखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
चामेमा पहिरोको जोखिमका कारण स्थानीय, कर्मचारी तथा सुरक्षाकर्मीसमेत सुरक्षित स्थानको खोजीमा छन्। पहिरो र बाढीका कारण बालबालिका, वृद्धवृद्धा तथा अशक्त नागरिकलाई सुरक्षित स्थानमा सार्न थप कठिनाइ भइरहेको छ। उद्धारका लागि तत्काल प्रभावकारी पहल आवश्यक रहेको स्थानीयको माग छ।
सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले राहत तथा उद्धारका काममा समेत चुनौती थपिएको छ। निरन्तर वर्षा र पहिरोको जोखिम कायमै रहेकाले मनाङमा थप क्षति हुन नदिन तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणमा ध्यान दिनुपर्ने अवस्था देखिएको छ।