पूर्वप्रधानन्यायाधीश पक्राउ प्रकरणमा सरकारको कार्यशैलीप्रति नेकपाको प्रश्न

1.1k Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ।

नेकपाले जबरालाई पक्राउ गर्ने क्रममा अपनाइएको प्रक्रिया र घटनाक्रमले कानुनी राज्यको अवधारणामाथि नै प्रश्न उठाएको जनाएको हो। उसले पूर्वप्रधानन्यायाधीशजस्तो संवैधानिक तथा न्यायिक जिम्मेवारी सम्हालिसकेको व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया र स्थापित विधिको पालना हुनुपर्नेमा त्यसो नभएको दाबी गरेको छ।

नेकपाका अनुसार राज्यका निकायले कुनै पनि नागरिकमाथि कारबाही गर्दा संविधान, कानुन र न्यायिक प्रक्रियाको पालना गर्नुपर्छ। विशेषगरी न्यायपालिकाको नेतृत्व गरिसकेको व्यक्तिलाई रातको समयमा नियन्त्रणमा लिँदा पक्राउको कारण, कानुनी आधार र आवश्यक प्रक्रिया स्पष्ट पारिनुपर्ने उसको भनाइ छ।

जबरालाई प्रहरीले आइतबार बिहान करिब ३ बजे सुरक्षा चुनौती रहेको कारण देखाउँदै निवासबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई अपराध अनुसन्धान कार्यालय, टेकु लगिएको थियो। प्रहरीले पछि उनलाई सुरक्षित स्थानमा पठाइएको जनाएको थियो।

घटनापछि पूर्वन्यायाधीश तथा पूर्वप्रहरी अधिकारीहरूले समेत जबरालाई नियन्त्रणमा लिँदा अपनाइएको कानुनी प्रक्रियाबारे प्रश्न उठाएका छन्। पक्राउ पुर्जी, आरोप तथा नियन्त्रणको स्पष्ट कानुनी आधारबारे जानकारी नदिइएको विषयमा पनि प्रश्न उठेको छ।

नेकपाले राज्यका सुरक्षा तथा अनुसन्धान निकायले कानुन कार्यान्वयनका नाममा विधिको शासनको मर्मविपरीत काम गर्न नहुने जनाएको छ। उसका अनुसार कानुनी राज्यमा व्यक्ति वा पद हेरेर होइन, समान कानुनी प्रक्रिया र प्रमाणका आधारमा राज्यका निकाय अघि बढ्नुपर्छ।

नेकपाले घटनाको वास्तविकता सार्वजनिक गर्दै जबरालाई नियन्त्रणमा लिने क्रममा भएका सबै प्रक्रियाबारे स्पष्ट जानकारी दिन सम्बन्धित निकायसँग माग गरेको छ। साथै, आगामी दिनमा यस्ता घटनामा संविधान र प्रचलित कानुनले तोकेको प्रक्रियालाई पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिएको छ।

 
 
सम्बन्धित समाचार