अधिकृत हाजिर नभएपछि भंगहा नगरपालिकामा मेयरकै तालाबन्दी

1.1k Shares

जनकपुरधाम, २ असोज । प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म कार्यालयमा हाजिर नभएपछि महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख संजिवकुमार साहले नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

नगरप्रमुख साहले यसअघि प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र हाजिर नभए अतिआवश्यक सेवाबाहेक नगरपालिकाको सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिएका थिए । तोकिएको समयभित्र पनि अधिकृत हाजिर नभएपछि सोमबार उनले नगरपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले भदौ १ गते खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर, मन्त्रालयको पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल कार्यालयमा हाजिर नभएको साहले बताए ।

प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफू पटक–पटक मन्त्रालय धाए पनि समस्या समाधान नभएको उनको गुनासो छ । मन्त्रीलाई भेटेर समस्या राख्न खोज्दा भेट नदिइएको र स्वकीय सचिवमार्फत समस्या राख्दा पनि सुनुवाइ नभएको साहले बताए ।

अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको उनको भनाइ छ । कर्मचारी तथा पदाधिकारीलाई तलब–भत्ता दिन, विकास योजना सञ्चालन गर्न र दैनिक सेवा प्रवाहमा समेत समस्या भएको उनले बताए ।

दसैँ नजिकिँदै गर्दा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या हुने अवस्था आएको साहको गुनासो छ । तालाबन्दीपछि उनले नगरपालिका र वडा कार्यालयका चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन् ।

नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल हाजिर गराई नियमित प्रशासनिक, वित्तीय तथा सेवा प्रवाह सुचारु गर्न मन्त्रालयसँग माग गरेको छ ।

सम्बन्धित समाचार