१२ वर्षमै स्मार्टफोन बोक्ने बालबालिकामा खानपानसम्बन्धी विकारको जोखिम बढी

1.1k Shares

काठमाडौं । सानै उमेरमा आफ्नै स्मार्टफोन प्रयोग गर्ने बालबालिकामा खानपानसम्बन्धी विकार (इटिङ डिसअर्डर) का लक्षण देखिने जोखिम बढी हुन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।

अध्ययनका अनुसार १२ वर्षको उमेरमा स्मार्टफोन भएका बालबालिकामा ‘बिन्ज इटिङ’ अर्थात् नियन्त्रण गुमाएर अत्यधिक खाना खाने, तौल बढ्ने चिन्ता गर्ने तथा आफ्नो आत्ममूल्यलाई तौलसँग जोड्ने जस्ता समस्या बढी देखिएका छन्।

अमेरिकामा गरिएको उक्त अध्ययनमा ८ हजार ९५७ जना किशोरकिशोरी सहभागी थिए। तीमध्ये करिब ७० प्रतिशतसँग १२ वर्षको उमेरमै स्मार्टफोन रहेको पाइएको थियो। अनुसन्धानकर्ताले १२ वर्षको उमेरमा स्मार्टफोन भएका बालबालिकालाई दुई वर्षसम्म पछ्याएर खानपानसम्बन्धी लक्षणको अध्ययन गरेका थिए।

अध्ययनमा १२ वर्षमै स्मार्टफोन भएका बालबालिकामा दुई वर्षपछि कुनै न कुनै इटिङ डिसअर्डरसम्बन्धी लक्षण देखिने जोखिम स्मार्टफोन नभएका बालबालिकाको तुलनामा बढी पाइएको थियो। विशेषगरी अत्यधिक खाना खाने तथा तौल नियन्त्रण गर्न अनुचित क्षतिपूर्ति व्यवहार गर्ने सम्भावना बढी देखिएको थियो।

अनुसन्धानकर्ताहरूले भने स्मार्टफोन हुनु र इटिङ डिसअर्डरबीचको सम्बन्ध देखिए पनि स्मार्टफोनकै कारण यस्तो समस्या उत्पन्न हुन्छ भन्ने निष्कर्ष निकाल्न अझै पर्याप्त प्रमाण नभएको बताएका छन्। सामाजिक सञ्जाल, शरीरको स्वरूपसम्बन्धी सामग्री, साथीहरूको प्रभाव तथा अन्य मनोसामाजिक कारणले पनि यसमा भूमिका खेल्न सक्ने भएकाले थप अनुसन्धान आवश्यक रहेको अध्ययनले जनाएको छ।

यसअघि गरिएको अर्को अध्ययनले पनि बढी स्क्रिन समय, सामाजिक सञ्जालको प्रयोग र समस्याग्रस्त मोबाइल प्रयोग किशोरकिशोरीमा खानपानसम्बन्धी विकारका विभिन्न लक्षणसँग सम्बन्धित रहेको देखाएको थियो।

विशेषज्ञहरूले बालबालिकालाई स्मार्टफोन उपलब्ध गराउँदा अभिभावकीय निगरानी, डिजिटल सामग्रीमा ध्यान तथा स्वस्थ खानपान र शरीरप्रतिको सकारात्मक दृष्टिकोण विकासमा समेत ध्यान दिनुपर्ने बताएका छन्।

 
 
 
सम्बन्धित समाचार