चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत दुई लाख १२ हजार ९७७ जनालाई उपचार सेवा प्रदान गरेको छ। अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा हरेक वर्ष असोज १० गते सेवा प्रवाहसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ।
अस्पतालका अनुसार ओपिडी सेवा लिने बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी थिए भने अन्य पुराना बिरामी पुनः परीक्षण तथा उपचारका लागि आएका थिए। अस्पतालका डा. सुशील अधिकारीका अनुसार सन् २०२५ मा उपचारका लागि आएका बिरामीमध्ये ६ हजार ८५८ जनामा नयाँ क्यान्सर पहिचान भएको थियो।
सन् २०२४ मा अस्पतालको ओपिडी सेवाबाट दुई लाख चार हजार ९७१ जनाले सेवा लिएका थिए। तीमध्ये ३१ हजार ५६० जना नयाँ बिरामी थिए भने सात हजार नौ जनामा नयाँ क्यान्सर पहिचान भएको थियो।
सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएका छन्। त्यस्तै, ११ हजार ५५९ जना बिरामी भर्ना भएर अन्तरङ्ग सेवा लिएका छन्। यस अवधिमा तीन हजार ९१ वटा ठूला शल्यक्रिया सम्पन्न भएका छन्।
यसअघि सन् २०२४ मा आकस्मिक विभागबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना भर्ना भएर उपचार गराएका थिए। सो वर्ष तीन हजार १६९ वटा ठूला शल्यक्रिया भएका थिए।
अस्पतालका अनुसार सन् २०२५ मा विकिरण प्रविधिमार्फत उपचार गराउने बिरामीको संख्या दुई हजार ९७० पुगेको छ। त्यस्तै, डे केयरमा भर्ना भएर केमोथेरापी लिने बिरामीको संख्या २६ हजार ४७२ रहेको छ।
अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्न नागरिकलाई निःशुल्क उपचार सेवा दिएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार विपन्न बिरामीको उपचारबापत ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ १६ पैसा बराबरको छुट प्रदान गरिएको छ।
यसैगरी, क्यान्सर सेवा समाजमार्फत १७६ जना बिरामीलाई १५ लाख ७३ हजार १४५ रुपैयाँ बराबरको छुट दिइएको छ।
सन् २०२४ मा नौ हजार ११२ जना विपन्न बिरामीले ३५ करोड ५८ लाख २२ हजार २०६ रुपैयाँ ९५ पैसा बराबरको छुट पाएका थिए। सोही वर्ष क्यान्सर सेवा समाजमार्फत २१५ जना बिरामीले १३ लाख ९० हजार ३६४ रुपैयाँ बराबरको छुट पाएका थिए।
पाँच सय शय्या क्षमताको अस्पतालले आइसियू, एचडियू र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेड निःशुल्क उपलब्ध गराउँदै आएको डा. नेपालले जानकारी दिए। अस्पतालमा भर्ना भएर उपचाररत बिरामीलाई दुई छाक खाना र एक छाक नास्तासमेत निःशुल्क उपलब्ध गराउने गरिएको छ।
उपचार, अनुसन्धान तथा रोगको निवारण र रोकथामलाई मुख्य उद्देश्य बनाएर विसं २०५३ मा ऐनमार्फत स्वायत्त संस्थाका रूपमा स्थापना भएको अस्पताल सुरुमा एक सय शय्याको थियो। अहिले अस्पतालको क्षमता पाँच सय शय्यामा विस्तार भएको छ।
चीन सरकारको सहयोगमा निर्माण भएको यस अस्पतालमा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। हाल अस्पतालमा एक सय चिकित्सक र २९५ नर्ससहित कुल ७१८ जना कर्मचारी कार्यरत छन्।