यूएनको आधिकारिक च्यानलमा ट्रम्पलाई पछि पार्दै युट्युबमा बालेनको भाषण शीर्ष स्थानमा

2.8k Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले गरेको सम्बोधन यस वर्ष विश्व नेताहरूका भाषणमध्ये सबैभन्दा धेरै हेरिएको छ ।

राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा उपलब्ध राष्ट्रप्रमुख तथा सरकार प्रमुखका सम्बोधनमध्ये बालेनको भाषणले सबैभन्दा धेरै भ्युज पाएको हो । आइतबार साँझसम्म उक्त भिडियो करिब ५ लाख पटक हेरिएको र ५ हजारभन्दा बढी प्रतिक्रिया आएको अनलाइनखबरले जनाएको छ ।

बालेनको सम्बोधनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणलाई पनि भ्युजका आधारमा पछि पारेको छ । ट्रम्पको सम्बोधनलाई सोही समयसम्म करिब ३ लाख ८० हजार पटक हेरिएको थियो । इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सम्बोधन दोस्रो स्थानमा रहेको उल्लेख गरिएको छ ।

बालेनले महासभामा मुख्य रूपमा जलवायु परिवर्तन, हिमालय क्षेत्रमा बढ्दो जोखिम र नेपालले भोगिरहेको जलवायुजन्य संकटको विषय उठाएका थिए । उनको सम्बोधनमा हिमालयबाट विश्व समुदायलाई आइरहेको चेतावनी तथा जलवायु न्यायको आवश्यकता औँल्याइएको थियो ।

राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा यस वर्षका भाषणमध्ये बालेनको सम्बोधनले सबैभन्दा धेरै दर्शक पाए पनि महासभाको इतिहासमा सर्वाधिक हेरिएको भाषणको कीर्तिमान भने पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको नाममा रहेको विभिन्न विवरणले देखाएका छन् । उनको २०२० को सम्बोधनको भिडियोमा ७० लाखभन्दा बढी भ्युज रहेको उल्लेख छ ।

यसअघि बालेनको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि प्राथमिकताका साथ प्रस्तुत गरेका थिए । नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको असरलाई विश्व समुदायसमक्ष उठाएपछि सम्बोधनप्रति अन्तर्राष्ट्रिय चासो बढेको समाचारहरूमा उल्लेख छ ।

सम्बन्धित समाचार