हेटौँडा । अविरल वर्षाका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडकहरू अवरुद्ध भएपछि त्रिभुवन राजपथ फेरि प्रमुख वैकल्पिक मार्ग बनेको छ ।
पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवागमन व्यवस्थापनका लागि नयाँ समयतालिका लागू गरेको छ ।
प्रशासनले हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौँडा आउने सवारीलाई छुट्टाछुट्टै समयमा सञ्चालन गर्ने व्यवस्था गरेको हो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार साँघुरो सडकमा एकैपटक धेरै सवारी प्रवेश गर्दा हुनसक्ने जाम र जोखिमलाई कम गर्न समय निर्धारण गरिएको हो ।
प्रशासनले सडकको अवस्था बुझेर जारी गरिएको तालिकाअनुसार मात्रै यात्रा गर्न चालक, व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ ।
इन्धन तथा खाना पकाउने एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई अर्को व्यवस्था नभएसम्म त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाइएको छ । यात्रुवाहक सवारीतर्फ भने ११ मिटर लम्बाइसम्मका सवारीलाई मात्रै सञ्चालन अनुमति दिइएको प्रजिअ अधिकारीले बताए ।
यसअघि पनि काठमाडौं जोड्ने अन्य सडक प्रभावित हुँदा त्रिभुवन राजपथमा सवारीको चाप बढ्दै आएको थियो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग प्रभावित हुँदा पनि त्रिभुवन राजपथ लामो समय वैकल्पिक मार्गका रूपमा प्रयोग भएको थियो ।
यसैबीच, कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि प्रशासनले आज साँझदेखि देउराली–सिस्नेरी सडकखण्डमा सवारी आवागमन बन्द गरेको छ । हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको अर्को वैकल्पिक मार्गसमेत बन्द भएपछि त्रिभुवन राजपथमा निर्भरता थप बढेको प्रशासनले जनाएको छ ।
प्रशासनले अत्यावश्यक यात्राका क्रममा त्रिभुवन राजपथ प्रयोग गर्दा तोकिएको समयतालिका अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।
काठमाडौंलाई तराईसँग जोड्ने पुराना सडक मार्गमध्ये पर्ने त्रिभुवन राजपथ सन् १९५० को दशकमा भारतको सहयोगमा निर्माण गरिएको थियो । साँघुरा घुम्ती, पुरानो सडक संरचना र जोखिमयुक्त भू–भागका कारण सामान्य अवस्थामा कम प्रयोग हुने यो सडक मुख्य मार्ग अवरुद्ध हुँदा राजधानीसँगको वैकल्पिक सडक सम्पर्कका रूपमा प्रयोग हुँदै आएको छ ।
पटकपटक विपद्का बेला यही सडकमा निर्भर हुनुपर्ने अवस्था देखिए पनि यसको विस्तार, जोखिमयुक्त घुम्ती सुधार तथा दीर्घकालीन स्तरोन्नति अझै चुनौतीका रूपमा रहेको छ ।