काठमाडौं–१० वडा अध्यक्ष कप चेसमा खोटाङका धिरेन राई विजयी

1.1k Shares

काठमाडौं । दोस्रो काठमाडौं–१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगिताको उपाधि खोटाङका धिरेन राईले जितेका छन्।

नयाँ बानेश्वरमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा धिरेनले नौ चरणको खेलबाट ८.५ अंक जोड्दै उपाधि हात पारे। स्विस लिग प्रणालीमा भएको प्रतियोगितामा झापाका ज्वाला लिम्बु ८ अंकसहित दोस्रो भए।

मकवानपुरका क्षितिज भण्डारीले ७.५ अंक जोड्दै तेस्रो स्थान हासिल गरे भने समान ७.५ अंक भएका भक्तपुरका निकेन कुसाथा चौथो स्थानमा रहे। रौतहटका सुमन लामा पाँचौँ र राजेन्द्र प्रसाद श्रेष्ठ छैटौँ भए।

त्यस्तै, ७ अंक जोड्ने रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाश चन्द्र नेपाल पनि शीर्ष १० भित्र परेका छन्।

काठमाडौं महानगरपालिका–१० को आयोजनामा भएको प्रतियोगितामा देशभरबाट २२० खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगिताका विजेता धिरेनले नगद २६ हजार २५० रुपैयाँ प्राप्त गरे भने उपविजेता ज्वाला लिम्बुले २२ हजार ५०० रुपैयाँ पाए। तेस्रो स्थानका क्षितिजले १८ हजार र चौथो भएका निकेनले ११ हजार २५० रुपैयाँ पुरस्कार प्राप्त गरे।

पाँचौँदेखि दशौँ स्थानमा रहेका खेलाडीलाई जनही ७ हजार ५०० रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

विजेता खेलाडीलाई काठमाडौं महानगरपालिका–१० का वडा अध्यक्ष रामकुमार केसी, सचिव सुबोध खड्का तथा प्रतियोगिता निर्देशक इन्द्रकुमार बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए।

सम्बन्धित समाचार