काठमाडौँ । नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारी गरिरहेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले उम्मेदवारी दर्ता तथा निर्वाचन प्रक्रियासम्बन्धी निर्देशिका सार्वजनिक गरेको छ।
डा. शशाङ्क कोइरालाको नेतृत्वमा रहेको १५औँ महाधिवेशन आयोजक समिति अन्तर्गतको केन्द्रीय सदस्य निर्वाचन समितिले जारी गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा विभिन्न पदमा उम्मेदवारी दिन आवश्यक प्रस्तावक र समर्थकको संख्या तोकिएको छ।
निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ७ जना प्रस्तावक र ७ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ। यसअनुसार सभापतिका उम्मेदवारले कम्तीमा १४ जना महाधिवेशन प्रतिनिधिको समर्थन जुटाउनुपर्नेछ।
त्यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका उम्मेदवारका लागि ५ जना प्रस्तावक र ५ जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्य पदका उम्मेदवारले भने ४ जना प्रस्तावक र ४ जना समर्थकको हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।
प्रदेशदेखि स्थानीय तहसम्मका विभिन्न पदमा उम्मेदवारीका लागि पनि प्रस्तावक र समर्थकसम्बन्धी व्यवस्था गरिएको छ। उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारको नाम, मतदाता क्रमसंख्या, क्रियाशील सदस्यता नम्बर, प्रस्तावक तथा समर्थकको विवरण र हस्ताक्षरसहित तोकिएको उम्मेदवारी शुल्कको रसिद बुझाउनुपर्नेछ।
निर्देशिकामा प्रस्तावक र समर्थक सम्बन्धित महाधिवेशन प्रतिनिधि हुनुपर्ने तथा नेपाली कांग्रेसको विधान र निर्वाचन नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख छ।
देउवा पक्षले यसअघि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।