काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ। कांग्रेसले जबरालाई पक्राउ गर्नुको कानुनी आधार र औचित्य स्पष्ट गर्न सरकारसँग आग्रह गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै सरकारी अधिकारीहरूबाटै जबराको गिरफ्तारीबारे परस्पर विरोधी धारणा सार्वजनिक हुनु गम्भीर विषय भएको बताएका छन्।
गिरफ्तारी कानूनसम्मत, आवश्यक र उचित भएको भए सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्न सक्नुपर्ने कांग्रेसको भनाइ छ।
विशेष सुरक्षा चुनौती, अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको हो भने त्यसको विश्वसनीय आधारसमेत राज्यले स्पष्ट गर्नुपर्ने चालिसेले बताएका छन्।
कांग्रेसले आफू अपराध अनुसन्धान र कानून कार्यान्वयनको विपक्षमा नरहेको स्पष्ट गर्दै कानून कार्यान्वयनका नाममा अस्पष्ट र अन्योलपूर्ण कानुनी प्रक्रिया स्वीकार्य नहुने जनाएको छ।
‘कानूनको शासन भनेको राज्यले कानून प्रयोग गर्नु मात्र होइन, राज्यका सबै निकाय स्वयं पनि संविधान र कानूनको सीमाभित्र रहनु हो,’ प्रवक्ता चालिसेले भनेका छन्।
कसैले कानून उल्लंघन गरेको भए निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा कारबाही गर्नुपर्ने र दोषी ठहरिए कानूनबमोजिम सजाय हुनुपर्ने कांग्रेसको धारणा छ। तर गिरफ्तारीलाई मात्रै दोषको प्रमाणका रूपमा लिन नहुने उसले जनाएको छ।
राज्यसँग रहेको शक्तिको प्रयोग अझ बढी पारदर्शी, न्यायोचित र जवाफदेही हुनुपर्ने कांग्रेसले बताएको छ।