चितवन । नारायणी नदी र रिउ खोलामा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि चितवनका नदी तथा खोला तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार चितवन भएर बग्ने नारायणी र रिउ दुवैमा जलसतहले चेतावनी तथा खतराको सीमा पार गरेको छ। नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
देवघाटस्थित नारायणी नदीमा पानीको सतह १०.११ मिटर पुगेको छ। नारायणीमा ९ मिटरलाई खतराको तह मानिन्छ भने ७.३ मिटरमा चेतावनीको तह पार हुन्छ। पछिल्लो मापनमा जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले नदी आसपासका तल्लो भूभागमा कटान तथा डुबानको जोखिम बढेको हो।
भरतपुर महानगरपालिका–१७ र २८ अन्तर्गतका नदी तटीय बस्तीमा पानी पस्न थालेको जनाइएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
यस्तै, बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४.६२ मिटर पुगेको छ। रिउ खोलामा ३.४० मिटरलाई चेतावनी र ३.८० मिटरलाई खतराको तह मानिन्छ। पछिल्लो समय पानीको सतह केही घटे पनि खतराको सीमाभन्दा माथि नै रहेकाले जोखिम कायमै रहेको विभागले जनाएको छ।
दुवै नदी तथा खोलामा पानीको बहाव उच्च रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन, खोला तथा नदी किनारमा नजान र जोखिम देखिए सुरक्षित स्थानमा जान विभागले अनुरोध गरेको छ।