काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि यूएईको स्थायी नियोगमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा जलवायुजन्य विपद्का कारण बाढीबाट प्रभावित समुदायप्रति यूएई सरकार र जनताले व्यक्त गरेको सहानुभूति तथा ऐक्यबद्धताका लागि धन्यवाद दिएका थिए।
उनले बाढी प्रभावितका लागि यूएईले उपलब्ध गराएको मानवीय सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे। साथै, प्रभावित समुदायको सहयोगका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने यूएईको पछिल्लो प्रतिबद्धताप्रति पनि मन्त्री खनालले धन्यवाद व्यक्त गरे।
भेटवार्तामा दुवै पक्षले नेपाल र यूएईबीचको सम्बन्धका विविध पक्षबारे छलफल गरेका थिए। पारस्परिक हित तथा लाभका क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबीचको निकट र सहयोगात्मक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै नेताले जोड दिएका थिए।
भेटमा आपसी हित, सहयोग र सहकार्यका अन्य विषयमा समेत रचनात्मक छलफल भएको जनाइएको छ।