काठमाडौँ । मकवानपुरस्थित लालबकैया खोलामा बाढी बढ्दै गएर जलसतह खतरा तह नजिक पुगेपछि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको सूचनामार्फत डुबान भइरहने क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार मकवानपुरको लालबकैया खोला, जुरेलीबजारमा बाढी बढिरहेको छ। जलसतह खतरा तह नजिक पुगेकाले आसपासका तल्लो तथा डुबान भइरहने क्षेत्रमा जोखिम बढेको जनाइएको छ।
महाशाखाले आइतबार बिहान ६ः२० बजे जारी गरेको सूचनामा आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी खोला तथा नदी किनार, होचा भूभाग र विगतमा डुबान हुने गरेका स्थानका बासिन्दालाई स्थानीय अवस्था बुझेर सुरक्षित रहन भनिएको छ।
लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा जलसतह बढिरहेको अवस्थामा लालबकैया खोलामा समेत बाढीको जोखिम बढेको हो। वर्षा जारी रहेमा जलसतह थप बढ्न सक्ने भएकाले अनावश्यक रूपमा खोला तथा नदी किनारमा नजान र सम्भावित डुबानबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।